Thaha

Friday 26 April - 3:44 am NST

राप्रपा नेपाल र राप्रपाबीच आज पार्टी एकता हुने


काठमाडौं, साउन २२ गते । लामो समयको कसरतपछि राप्रपा नेपाल र राप्रपाबीच आज पार्टी एकता हुने भएको छ । पार्टी एकता घोषणापत्रमा आज दुई पार्टीका अध्यक्षले हस्ताक्षर गर्ने तय भएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । तर हस्ताक्षर कतिबेला हुने भन्ने तय भएको छैन । पार्टी एकताको घोषणा आगामी साउन २५ गते मंगलबार गर्ने राप्रपा नेपालले जनाएको छ । दुवै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले पार्टी एकीकरण सम्बन्धि नीति तथा आधारपत्र यसअघि नै पारित गरिसकेको र आज औपचारीक रुपमा पार्टी एकता हुन लागेको नेताहरुले बताएका छन् । एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिनेछ । पार्टीको केन्द्रिय अध्यक्षमा कमल थापा र सेरेमोनियल रुपमा राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा रहने छन् । पार्टीको चुनाव चिन्ह भने एकतापछि बस्ने केन्द्रीय बैठकले टुँगो लगाउने छ । सरकारमा जाने÷नजाने विषयमा देखिएको अन्यौलको टुंगो एकीकृत पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले लगाउने राप्रपा नेपालका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । संसदको चौथो ठूलो दल राप्रपा नेपालले प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनको बिपक्षमा मतदान गर्दै जिम्मेवार प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो भने गठबन्धनको पक्षमा मतदान गरेको राप्रपा सरकारमा सहभागी हुने तयारीमा छ ।

एकतामा हस्ताक्षर गरिसकेपछि १५ दिन भित्रमा पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्ने र बैठकको निर्णय अनुसार सरकारमा जाने वा प्रतिपक्षमा बस्ने टुंगो लाग्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।