Thaha

Saturday 27 April - 12:30 pm NST

उपप्रधानमन्त्री महरा चीन प्रस्थान

काठमाण्डौं, साउन ३१ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा आज चीन जानु भएको छ । बिहान ११ बजे एयर चाइनाको बिमानबाट महरा चीन जानुभएको हो । बेइजिङ पुगेर उपप्रधानमन्त्री महराले चीनका राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमणको निम्तो दिनुहुनेछ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री महराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयन र थप समझदारीका विषयमा समेत छलफल गर्नुहुनेछ  । उपप्रधानमन्त्री महरा भदौ ३ गते स्वदेश फर्कनुहुनेछ । गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका दुई उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीका विशेष दूतका रुपमा दुई छिमेकी राष्ट्र भारत र चीन पठाउने निर्णय गरे अनुसार महरा चीन जानुभएको हो ।

अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि पनि भारत जाँदै हुनुहुन्छ । तर उहाँको भारत भ्रमणको मिति भने तय भइसकेको छैन । भारतीय दूताबासमार्फत भ्रमणको मिति र कार्यतालीका बनाउने काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । निधिले भारत गएर राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनुहुनेछ ।