Thaha

Thursday 25 April - 12:11 pm NST

माओवादी केन्द्रीय कार्यालयको बैठक निश्कर्षहीन


काठमाण्डौं, २० साउन । पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन नसकेपछि नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठक विनानिष्कर्ष स्थगित भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बिहान बसेको बैठकमा मन्त्रीहरुको नामबारे छलफल भए पनि निर्णय हुन नसकेको हो । प्रवक्ता पम्फा भुषालले दुई÷तीन जनालाई आजै मन्त्रीको सपथ गराउने गरी छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्री बन्नेको नाम र कुन मन्त्रालय सम्हाल्ने भन्नेबार दिउँसो १ बजेपछि लाजिम्पाटमा बस्ने बैठकले टुंगो लगाउने प्रवक्ता भुषालले बताउनुभयो । माओवादीले कृष्णबहादुर महरालाई उपप्रधानसहित अर्थमन्त्री बनाउने तयारी गरेको छ । जनार्दन शर्मालाई सञ्चारमन्त्री दिने संभावना छ । त्यसैगरी, राम कार्की, हितराज पाण्डे, प्रभु साहको नाम पनि मन्त्री बन्ने चर्चा छ । पद बाँडफाँडअनुसार कांग्रेसले गृह, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, सामान्य प्रशासन, शिक्षा, खानेपानी तथा सरसफाई, पर्यटन, शान्ति तथा पुनर्निर्माण मन्त्रालय लिने भएको छ । यस्तै, माओवादी केन्द्रले अर्थ, सूचना तथा सञ्चार, ऊर्जा, स्वास्थ्य, वन, कानुन, सहरी विकास मन्त्रालय लिनेछ ।

स्थानीय विकास मन्त्रालयका सम्बन्धमा भने कुनै सहमति हुन सकेको छैन । यसैबीच, नवनिर्वाचित प्रधाममन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई छिट्टै पुर्णता दिने बताउनुभएको छ । कार्यालय बैठकपछि आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।