Thaha

Friday 19 April - 4:38 am NST

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाईको ओईरो

काठमाण्डौं, साउन १९ । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलीफोन गरेर बधाइ दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले नेपाली समकक्षीलाई भ्रमणको निम्तोसमेत दिनुभएको छ । प्रचण्ड प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्रीले टेलिफोन गरेर बधाइ दिनुका साथै कार्यकालको सफलताको कामना गरेका प्रचण्डको सचिवालयले जनाएको छ । टेलिफोन सम्वादमा मोदीले छिटो भारत भ्रमणका लागि प्रचण्डलाई आग्रह समेत गर्नुभएको छ ।

यसैबीच चिनीयाँ राजदूत वु छुन्ताईले लाजिम्पाट पुगेर नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाई दिनुभएको छ । नेपालमा संविधान जारी हुँदा असन्तुष्टि र असहयोग गरे पनि भारतीय प्रधानमन्त्रीले नौ महिना अघि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने वित्तिकै टेलिफोन गरेर बधाइ तथा शुभकामना दिनुभएको  थियो । 


नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्ठराईले पनि नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाई दिनुभएको छ । डा. भट्ठराईले प्रधानमन्त्रीमा निर्वाचित भएको बधाई दिंदै कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ । “पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना” डा. भट्ठराईले ट्विट गर्नुभएको छ । तत्कालीन एकीकृत नेकपा माओवादीबाट बाहिरीएर डा. भट्ठराईले नयाँ शक्ति नेपाल गठन गर्नुभएको थियो ।