Thaha

Friday 19 April - 3:01 pm NST

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड ।

 

काठमाण्डौं, साउन १९ । नेपालको ३९ औं प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड निर्बाचीत हुनु भएको  छ । व्यवस्थापिका संसदको आज बसेको बैठकले प्रचण्डलाई मुलुकको ३९ औं प्रधानमन्त्रीमा चयन गरेको हो । प्रचण्डले व्यवस्थापिका सांसदमा हाल कायम रहेको ५ सय ९५ सदस्य संख्याको बहुमत संख्या ३ सय ६३ सांसदले मतदान गरे ।

प्रचण्ड नेपालको इतिहासमा दोस्रो पटक प्रधानमन्त्री बन्ने कम्युनिष्ट नेताको छबी बनाउँदै प्रधानमन्त्रीमा निर्बाचीत हुनु भएको हो । उहाँको बिपक्षमा २ सय १० जना सांसदले मतदान गरेका थिए । पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट २०६५ भदौमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री पदमा निर्वा्चित हुनु भएको थियो । त्यसको नौ महिनापछि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवालको विवादास्पद बर्खास्ती प्रकरणमा उहाँले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिनुभएको थियो ।

प्रधानमन्त्रीबाट नौ महिनामै बाहिरिनु भएका प्रचण्ड  नौ वर्षपछि पुनः प्रधानमन्त्रीमा निर्बाचीत हुनु भएको हो  । प्रधानमन्त्री केपी ओलीविरुद्ध सदनमा अविश्वास प्रस्ताव दर्ता गर्नुअगावै कांग्रेस र माओवादीबीच सत्ता समीकरण निर्माणका लागि भएको सहमतिमा प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नौ –नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गर्नुभएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा लिनुभएको हो  । २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई  २०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरा गर्नुभएको थियो ।  २०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गरी एम.पि.ए.सम्मको अध्ययन गरेका प्रचण्डले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राख्नुभएको थियो ।  प्रचण्ड  २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामले चिनिनु भएपनि उहाँ  आफूलाई पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा गर्व गर्नुहुन्छ । 

वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सराई गर्नुभएका  प्रचण्डको वि.सं. २०२६ बैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उहाँका तीन छोरी र एक छोरा मध्ये  जेठी छोरीको निधन भईसकेको छ । उहाँ  नारायणी विद्या मन्दिर मा.वि.शिवनगरमा २०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि. आरुघाट, गोरखामा २०३३ देखि ०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा सेवारत रहनु भएको थियो । 

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका  प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो  । उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्बाचीत हुनु भएको थियो । २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वा्चित हुनुभयो । 

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वा्चित प्रचण्ड  २०४२ मा पोलिटब्युरो सदस्य हुँदै  २०४७  मा महामन्त्री र २०४८ सालमा नेकपा एकताकेन्द्रको महामन्त्री बन्नुभयो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व समेत गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष बन्दै प्रचण्ड पार्टीको नाम परिबर्तन भएपनि अहिलेसम्म नेतृत्वमा हुनुहुन्छ ।

वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनु भएको हो  । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वा्चित हुँदै प्रचण्ड २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा हुँदै प्रचण्ड  २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वा्चित हुनुभयो ।   उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वा्चित हुनुभएका  प्रचण्ड २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वा्चित भएपनि काठमाण्डौ क्षेत्र नं.१० मा भने पराजीत हुनु भएको  थियो ।

नेपाली राजनीतिमा निक्कैै उतार चढाब भोग्नु भएका प्रचण्डका लागि दोस्रो पटक प्रधानमन्त्री हुने अबसर प्राप्त भएको हो  । प्रधानमन्त्रीको अवसर संगैै सरकार हाक्नका लागि उहाँलाई निक्कै चुनौति पनि हुने बिश्लेषण गरिएको छ । अनेक चुनौतिका बाबजुद पनि शुरु भएको उहाँको यात्रा स्वयं प्रचण्ड र माओवादी आन्दोलनकै लागि पनि एउटा अग्नि परिक्षा बनेको छ । प्रधानमन्त्री हुनुपूर्व उहाँले संसदमा निक्कै ओजनदार भाषण दिनुभएको छ ।