Thaha

Saturday 20 April - 5:24 am NST

सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्न राप्रपा नेपाल आन्तरिक छलफलमा


काठमाण्डौँ, साउन १९ । राप्रपा संगको एकता प्रक्रियालाई ध्यानमा राखी सरकारमा सहभागी हुने÷नहुने विषयमा टुंगो लगाउन राप्रपा नेपालको कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ । बैठक केहीबेरमा सिंहदरबारमा बस्नेछ । हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा नेताहरुको मत बाँडिए पछि टुंगोमा पुग्न सकेको थिएन । केही नेताले अब बन्ने सरकारमा सहभागी नहुन सुझाव दिएका थिए भने केही नेताले राप्रपा संगको एकता प्रक्रियालाई ध्यानमा राखी सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । पार्टी एकताको प्रक्रिया अघि बढिरहेकाले प्रधानमन्त्री निर्वाचन र सरकारमा सहभागीताको विषयमा दुवै पार्टीको समान धारणा आउनु उपयुक्त हुने भएकोले पार्टी एकता सुनिश्चितताको अन्तिम प्रयास गर्न र सरकारमा सहभागीताको टुङ्गो लगाउन आज फेरी बैठक बस्न लागेको राप्रपा नेपालले जनाएको छ ।

बैठक अघि समान धारणा बनाउने प्रयास स्वरुप राप्रपा संग छलफल गरिने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । एकताको खाका तयार भएपनि अहिले नै एकता भईहाल्ने भन्ने नहुने भएकाले सहमतिको बिन्दु खोज्ने प्रयास हुने उहाँको भनाई छ ।