Thaha

Friday 19 April - 9:33 pm NST

नयाँ प्रधानमन्त्री चयनका लागि संसदमा निर्वाचन हुदैँ


काठमाण्डौँ, साउन १९ । नयाँ प्रधानमन्त्री चयनका लागि संसदमा आज निर्वाचन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्रै उमेद्बारी परेकाले उहाँ मुलुकको भावी प्रधानमन्त्री निर्वाचित हुने लगभव पक्का छ । विहान ११ बजे बस्ने संसद बैठकको सुरुमा प्रस्तावक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्दै प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । त्यसपछि समर्थकहरुले समर्थन गर्नाका कारण पेश गर्दै आफ्ना भनाई राख्नेछन् । एकजनाको मात्रै उमेद्बारी परेपनि मतदान प्रक्रियाबाट बहुमत सिद्ध गर्नुपर्ने भएकाले सभामुखले प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्न सांसदहरुलाई सूचित गर्नुहुहुनेछ । त्यसपछि प्रस्तावको पक्ष र विपक्षमा हुने सांसदहरुले छुट्टाछुट्टै स्थानमा राखिएको आफ्नो नामावलीमा हस्ताक्षर गर्नुपर्ने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिनुभयो । त्यसपछि  संसदमा कायम भएको ५ सय ९५ मतको बहुमत अर्थात २ सय ९८ वा सो भन्दा बढी मत ल्याएमा सभामुखले प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्नुहुनेछ । अहिलेसम्म ३ सय ५७ सांसदले प्रचण्डको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्न लाग्नुभएको हो । २०६५ साउन ३१ गते पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा प्रचण्डले अहिलेका प्रस्तावक एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई नै पराजित गर्नुभएको थियो ।