Thaha

Friday 19 April - 9:19 pm NST

सोमबारदेखि नै बहुमतीय प्रक्रियाबाट सरकार गठनको पहल थालिने / सरकार निर्माणमा सघाउन प्रचण्डको आग्रह

Ph thahakhabar.com

 काठमाडौं, १६ साउन । प्रमूख दलहरुले सोमबारदेखिनै बहुमतिय प्रक्रियाबाट सरकार गठनको पहल थाल्ने भएका छन् । दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले दिएको समय आइतबार सकिएको छ । 
सात दिनको समयमा दलहरुले देखाउनका लागि मात्रै सहमतिको सरकार गठनको प्रयास गरे । काँग्रेस माओवादी गठबन्धन आन्दोलनमा रहेको संघीय गठबन्धनसँगको छलफलमा व्यस्त रहे र सहमतिको खाका तयार गर्न ९ सदस्यीय कार्यदलनै गठन गरे । कार्यदलले पर्सी १८ गतेसम्म सहमतिको खाका तयार गर्ने काँग्रेस नेता विमलेन्द्र निधीले जानकारी दिनुभयो । नयाँ सरकारको नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले देखि राप्रपा नेपालका शिर्ष नेताहरुसँग सरकार गठनबारे छलफल गर्नुभयो, तर राष्ट्रिय सहमति जुट्न सकेन । अब काँग्रेस माओवादी केन्द्र सोमबारदेखिनै बहुमतिय सरकार निर्माणमा व्यस्त हुनेछन् । 
माओवादी केन्द्रको समर्थन फिर्ता र काँग्रेसको समर्थनमा अविस्वासको प्रस्ताव दर्ता भएपछि संसदबाट राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले पनि सोमबारदेखि बहुमतिय सरकार गठनको पहल थाल्ने संसदीय दलका प्रमूख सचेतक भानुभक्त ढकालले बताउनुभयो । ढकालले प्रधानमन्त्रीमा एमालेले पनि उम्मेदवार दिने तर उम्मेदवार को हुने भन्ने बिषयमा छलफल नभएको बताउनुभयो । राष्ट्रपति भण्डारीले गएको सोमबार संविधानको धारा २ सय ९८ (२) अनुसार एक हप्ताको समय दिई सहमतिय सरकार गठनको आव्हान गर्नुभएको थियो । सहमतीय सरकार नबने धारा २ सय ९८ (३) अनुसार राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि आव्हान गर्नुहुनेछ । 
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार निर्माणमा भएको प्रगतिबारे प्रमुख दलका शीर्ष नेतासँग जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारीले बिहान शितल निवासमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई बोलाएर सहमतीय सरकार बनाउने प्रयास बुझ्नु भएको हो । 
छलफलमा नेताहरुले सहमतीय सरकारको सम्भावना कम रहेको प्रतिक्रिया दिएका थिए । सहमतीय सरकार गठनका लागि छलफलको नेतृत्व लिएका माओवादी अध्यक्ष प्रचण्डले एमाले सरकारमा सहभागी नहुने जानकारी प्राप्त भएपछि सहमतीको संभावना लगभग सकिएको बताउनुभएको थियो । सबै नेताले सहमतिको सरकार बन्ने सम्भावना न्यून रहेको भन्दै अझै प्रयास गर्ने र भोलि दिउँसोदेखि बहुमतीय प्रक्रिया सुरु गर्नुपर्ने बताएका फोरम लोकतान्त्रिका अध्यक्ष गच्छेदारले जानकारी दिनुभयो । तर, राष्ट्रिय मुद्दामा दलहरु गम्भीर रहेकाले त्यसमा भने सहमति हुने राष्ट्रपतिसमक्ष जानकारी गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन, देशका समस्या समाधानका लागि राष्ट्रीय सहमतिको सरकारमै जोड दिएको गच्छेदारले बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्माणमा सघाउन राप्रपा नेपाललाई आग्रह गर्नुभएको छ । अध्यक्ष कमल थापासँग सिंहदरबारमा भेटेर प्रचण्डले सरकार निर्माणमा सहयोग गर्नका लागि प्रस्ताव गर्नुभएको हो । अध्यक्ष थापाले पार्टीमा छलफल गरी आधिकारिक जानकारी दिने बताएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । नयाँ प्रधानमन्त्रीका लागि अघि सर्नुभएका प्रचण्डले सरकार बहुमतीय प्रक्रियाबाट बन्ने भएपछि आज राप्रपा नेपालका अध्यक्ष थापासँग भेट्नुभएको हो । राप्रपा नेपालले यसअघि नेकपा एमाले गठबन्धनलाई अन्त्यसम्म साथ दिने निर्णय गरेको थियो ।