Thaha

Friday 19 April - 6:50 pm NST

अनशनरत डाक्टर गोबिन्द केसीले अनशन तोड्ने


काठमाडौं, साउन १० । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डाक्टर गोबिन्द केसीले आज अनशन तोड्दै हुनुहुन्छ । गएराति सरकारी वार्ता टोलीसँग चार बुँदे सहमति भएपछि डाक्टर केसीले अनशन तोड्न लाग्नुभएको हो । आज दिउँसो २ बजे डाक्टर केसीले अनशन तोड्ने उहाँका तर्फबाट गठित वार्ता टोलीका संयोजक डाक्टर रञ्जन सापकोटाले जानकारी दिनुभयो । गएराति नै सहमति पत्रमा हस्ताक्षर गरेका डाक्टर केसीले अब प्रधानमन्त्री बन्न लागेका नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस  सभापति शेरबहादुर देउवालाई पनि सहमति कार्यान्वयनको प्रतिवद्धता गराउन खोजेको उहाँ निकटका चिकित्सकहरुले बताएका छन् । त्यसैले अनशन तोड्न ढिलाई भएको उनीहरुको भनाई छ ।

गएराति अबेर सरकारसँग भएको वार्तामा चिकित्सा शिक्षाको स्तरीयता, विद्यार्थी भर्नामा पारदर्शिता, केन्द्रीय प्रवेश परीक्षा प्रणाली, सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र अध्ययनका लागि ७५ प्रतिशत विद्यार्थीका लागि क्रमशः छात्रवृत्ति उपलब्ध गराउने र प्रत्येक प्रदेशमा कम्तीमा एक÷एक वटा मेडिकल कलेज संचालन गर्ने सहमति भएको थियो । अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग संसदमा दर्ता भइसकेकाले सरकारले केही गर्न नपर्ने सहमति भएको हो । सरकारले डा केसीसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो ।