Thaha

Saturday 27 April - 5:03 am NST

म प्रधानमन्त्री बन्दा चीन खुशी नै हुन्छ : प्रचण्ड

काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्दा उत्तरी छिमेकी देश चीन दुखी नहुने बताउनुभएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएपछि चीनसँग विगतमा भएको सहमति कार्यान्वयन नहुने भनी भ्रम फैलाइएको भन्दै प्रचण्डले माओवादी नेतृत्वमा सरकार बन्दा चीन खुशी नै हुने दाबी गर्नुभयो । माओवादी निकट पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो  ।
सरकार फेरिएपछि चीनको राष्ट्रपति सि जिन पिङको भ्रमण रोकिने र चीनसँगको सम्झौता कार्यान्वयन नहुने भनी नियोजित ढंगले भ्रम फैलाइएको प्रचण्डको भनाई छ । आफुहरुले सरकार गठन हुँदा भएका सहमति कार्यान्वयनका लागि पटक पटक आग्रह गर्दा पनि प्रधानमन्त्री ओलीले कार्यान्वयनमा चासो नदेखाएको अध्यक्ष प्रचण्डले बताउनुभयो । अहिले अविश्वासको प्रस्ताव पेश भइसक्दा पनि सजिलो ढंगले बाहिरिनु भन्दा षड्यन्त्र गर्न थालेको उहाँको आरोप छ । माओवादी अध्यक्ष प्रचण्डले अहिले राष्टवादका नाममा गणतन्त्र लगायत प्राप्त उपलब्धी विरोधीले राजनीति गरेको आरोप लगाउनुभयो । 
सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि पनि एक पटक राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने उहाँले बताउनु भयो । तर, राजनीतिक दलले आफ्नो निर्णय गर्ने कुरालाई बन्देज लगाएर षड्यन्त्र गर्न खोजिएको आरोप प्रचण्डले लगाउनुभयो ।