Thaha

Thursday 25 April - 4:27 pm NST

माओवादी केन्द्र सरकारबाट बाहिरियो

 

काठमाडौं, २८ असार । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 
सरकारले संविधान कार्यान्वयन, भुकम्पपछिको पुननिर्माण, मधेस र आदिवासी जनजातिको माग सम्बोधन गर्न नसकेको भन्दै माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो । नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, लगायत दलको समर्थनमा गत असोज २४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतीय सरकार बनेको थियो । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले देशका सबै खाले समस्या समाधान गर्न एमालेसँग बैशाख २३ गते भएको ९ बुँदे र ३ बुँदे भद्र सहमति कार्यान्वयन गर्न सरकारले गम्भीरता नदेखाएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो । उहाँले सरकारलाई दिएको समर्थन फिर्तासँग आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाइएको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट आप्mनो पार्टी फिर्ता भएको पत्र आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाउनुभएको छ । 
माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको लागि नेपाली कांग्रेसबाट समर्थन प्राप्त भइसकेको दाबी गरेको छ । आफ्नो पार्टी राष्ट्रिय सहमतिको पक्षमा रहेको भन्दै उसले सहमतीय सरकारमा एमाले पनि आउन विश्वास लिएको छ । माओवादी केन्द्रको निर्णयसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।