Thaha

Thursday 25 April - 10:26 pm NST

ओली नेतृत्वको सरकार उखानटुक्कामा चलेको देउवाको टिप्पणी

File Photo

 काठमाडौं, १८ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार उखानटुक्कामा चलेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस काभ्रेको भवन शिलान्यास कार्यक्रममा देउवाले ओली नेतृत्वको सरकार आफुहरुसँग कुनै छलफल नै नगरी आफ्नै ढंगले अघि बढेको बताउनुभयो ।
काँग्रेस सभापति देउवाले संविधान कार्यान्वयनको जिम्मेवारी र भुकम्पपीडितले पाउनुपर्ने अनुदान र सहयोगको लागि काँग्रेसले जिम्मेवारी लिने बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले संविधान कार्यान्वयका लागि काँग्रेसले नेतृत्व लिनुपर्ने जिकिर समेत गर्नुभयो ।
देउवाले एमाले स्थानीय निकायको गाउँपालिका र नगरपालिको चुनाव गराउ नै नचाहेको बताउनुभयो । एमालेले एकातिर मंसिरमा चुनाव र अर्कोतिर स्थानीय निकाय पुनःसंरचना आयोगलाई रिपोर्ट बुझाउन फागुनसम्म म्याद दिएर जनतालाई झुक्याउने काम गरेको देउवाले बताउनु भयो । उहाँले काँग्रेस चुनावबाट नभाग्ने बताउँदै साउन वा भदौ भित्रै पुनःसंरचना आयोगको रिपोर्ट ल्याउनुपर्ने बताउनु भयो । देउवाले भुकम्पपीडितका लागि अघिल्लो सरकारले संसारभरिबाट ल्याएको रकम वर्तमान सरकारले दुरुपयोग गरेको आरोप लगाउँदै पीडितमाथि भेदभाव भएमा जुलुस निकाल्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।