Thaha

Saturday 27 April - 8:04 pm NST

नेपाल–जापान कुटनीतिक परामर्श संयन्त्रको बैठक


काठमाण्डौं, १५ असार  । नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान कुटनीतिक परामर्श संयन्त्रको बैठक आज काठमाडौंमा हुँदैछ । परराष्ट्र मन्त्रालयमा हुने बैठकमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउने बिषयमा छलफल हुने मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै मुलुकका अधिकारीले विचार आदानप्रदान गर्नुका साथै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका बारेमा पनि छलफल हुनेछ । दिउँसो शुरु हुने बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत एवम् क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालतर्फको नेतृत्व परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख सहसचिव झवीन्द्रप्रसाद अर्यालले गर्नुहुनेछ ।  

जापानी पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदाले गर्नुहुनेछ । बैठकमा सहभागी हुन जापानी टोली हिजो नै नेपाल आइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।