Thaha

Wednesday 24 April - 2:11 pm NST

वैदेशिक रोजगारीमा भैरहेको ठगीमा संसदीय समितिको चासो


काठमाण्डौं, असार ३ गते । ठगीमा पटक÷पटक संलग्न भई आरोप पुष्टि भएका म्यानपावर कम्पनीका अनुमतिपत्र नवीकरण नहुने भएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आरोप पुष्टि भएका कम्पनीका लागि स्पष्ट नीति र मापदण्ड बनाई उनीहरुको अनुमति पत्र नविकरण नगर्न श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । कामदारबाट बढी रकम असुलेको भनी उजुरी परेर कारबाही भएपछि पनि नसुध्रिएका म्यानपावर कम्पनीको विवरण तयार पारी अनुमतिपत्र नवीकरण नगर्न समितिको बैठकले निर्देशन दिएको समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो । पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीका सबैभन्दा बढी उजुरी महाराजगञ्जमा रहेको आर ए एण्ड आर जब ट्र्याकर म्यानपावर विरुद्ध परेको भेटिएको छ । वैदेशिक रोजगार विभागका अनुसार विसं २०६४ साउनपछि  यो म्यानपावर विरुद्ध १ सय १५ वटा ठगीका उजुरी परेका छन । त्यस्तै गौशालाको द रिभर ओभरसिज विरुद्ध १०४, बखुन्डोलको प्याराडाइज इन्टरनेसनल प्राइभेट लिमिटेड विरुद्ध १०३ ठगीका उजुरी  छन । अन्य म्यानपावर कम्पनीका विरुद्ध पनि ५० भन्दा बढी उजुरी परेका छन् ।