Thaha

Saturday 27 April - 10:51 am NST

शेयर बजारमा सर्किटब्रेक


काठमाडौं, साउन २४ गते । शेयर बजारमा सर्किटब्रेक लागेको छ । शेयर बजार खुलेको केही घण्टामै ८८ अंकले गिरावट आएपछि सर्किट ब्रेक लगाईएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज ८८ दशमलव ८१ अंकले घटेपछि बजार दिउँसो साढे १ बजे नै बन्द गरिएको छ । बजार बिहान ११ बजेदेखि खुलेको थियो । नेप्से परिसूचक ८८ दशमलव ८१ अंकले रातो भएसँगै समग्र बजार १६ सय ७५ दशमलव ९१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेर ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँमै खुम्चिएको छ । यसअघि बजारमा पौने ४ अर्ब रुपैयाँसम्मको कारोबार भएको  थियो । दिनभर १ सय ३० कम्पनीका ११ लाख ६२ हजार ५ सय ७१ कित्ता शेयर किनबेच भए । आज उत्पादनमूलक समूह बाहेक सबै समूहको सुचक रातो भएको छ । वीमा समूहमात्रै ५ सय ३७ दशमलव ८४ अंकले ओरालो लागेको छ । जलविद्युत १ सय १७, बैंकिङ्ग ९२, होटल ६२, विकास बैंक ६९, फाईनान्स ३० र अन्य समूहको सुचक ३२ अंकले रातो भएको छ । उत्पादनमूलक समूह ८ अंकले हरियो भयो ।