Thaha

Saturday 20 April - 1:07 pm NST

शेयर बजारमा कालोधनको छानवीन गर्ने योजनाको प्रभाव ।


काठमाण्डौं, साउन २० । लगातार ओरालो लाग्दै शेयर बजारले साताको कारोवार अन्त्य गरेको छ । बजारमा आज एकै दिन ४५ अंकले गिरावट आयो । एक सातामा १८ सय ८१ अंकबाट १ सय १३ अंक झरेर बजार १७ सय ६८ दशमलव ६० अंकमा आईपुगेको छ । कारोवारको अन्तिम दिन नेप्से परिसुचक ४५ दशमलव १२ अंकले रातो भएपनि कारोवार रकम भने हिजोको तुलनामा केही सुधार देखियो । आज १ अर्ब ५० करोड रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

दिनभर १ सय ४२ कम्पनीका शेयर किनबेच भए । बजारमा सबै उपसुचकहरु रातो भएका छन् । बिमा सबैभन्दा धेरै २ सय ९९ र होटल १ सय २  अंकले घटेको छ । य स्तैगरी बाणिज्य बैंक समूह ३९ दशमलव ९३, विकास बैंक ५२ दशमलव २२, जलविद्युत ५८ दशमलव ७, उत्पादनमूलक ५१ दशमलव २७, फाईनान्स १७ दशमलव ६८ र अन्य समूहको सुचक १२ दशमलव १५ अंकले रातो भयो ।

सिद्धार्थ बैंकको ११ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कालोधनको छानबिन गर्न समिति बनाईपछि  लगानीकर्ता हच्किएर बजार ओरालो लागेको ब्रोकरहरुको दाबी छ । केही लगानीकर्ताले भने कालो धन र सरकार परिवर्तनको विषयको मनोबैज्ञानिक त्राससँगै बजार सुनियोजित रुपमा झारिएको तर्क गर्न थालेका छन् ।