Thaha

Sunday 05 May - 3:09 am NST

संघीय गठबन्धनलाई आर्थिक अभाव


काठमाण्डौं, जेठ ३२ । आर्थिक अभावका कारण संघीय गठबन्धनको आन्दोलनमा समस्या भएको छ । आन्दोलनमा यातायात, खाने, बस्ने, प्रचार–प्रसार लगायतको खर्च नभएपछि समस्या भएको हो । गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल, लिम्बुवान पार्टी लगायतले आन्दोलनका नाममा रकम बटुले पनि गठबन्धनका अन्य घटकले आर्थिक संकलन गर्न सकेका छैनन् ।

गठबन्धनको ३६ वटा घटकबाट २५ हजारको दरले उठाउने भनिए पनि अधिकांशले दिन सकेका छैनन् । त्यस्तै, गठबन्धन आवद्ध दलका ४० भन्दा बढी सांसदबाट जनही २५ हजार उठाउने भनिए पनि धेरैले नदिएको स्रोतले जनाएको छ । संविधानप्रति असन्तुष्ट गठबन्धनले उपत्यका बाहिरबाट कार्यकर्ता ल्याएर जेठदेखि काठमाडौं केन्द्रित संघर्ष गरिरहेको छ ।

दुईपटक सिंहदरबार घेराउ, एक दिन बालुटार घेराउ गरेपनि सरकारले खासै चासो नदेखाएको गठबन्धन आबद्ध दलका नेताहरुको गुनासो छ । सरकारले मधेसी मोर्चालाई मात्र पत्र पठाएर आदिवासी जनजाति, खस क्षेत्री लगायतलाई फुटाउन खोजेको सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले बताउनुभयो ।