Thaha

Saturday 21 September - 11:12 am NST

भुकम्पपीडितका लागि संकलित रकम सरकारले दुरुपयोग गर्न खोजेको काँग्रेसको आरोप

नेपाली काँग्रेसले भुकम्पपीडितका लागि संकलित रकम सरकारले दुरुपयोग गर्न खोजेको आरोप लगाएको छ । भूकम्प पीडितका लागि राहत र पूननिर्माणको जिम्मा गैरसरकारी संस्थालाई दिएर सरकारले रकम दुरुपयोग गर्न खोजेको काँग्रेसको आशंका छ । काठमाण्डौमा भएको एक कार्यक्रममा काँग्रेस सभापति देउवाले गैरसरकारी संस्थालाई पूननिर्माणको जिम्मा दिने पूनर्निर्माण प्राधिकरणको निर्णयप्रति आपत्ति जनाउनभुयो ।

काठमाण्डौं । सरकारले आफू निकट एनजीओ मार्फत पैसा दुरुपयोग गर्न खोजेको आरोप लगाउँदै देउवाले कुनै पनि हालतमा त्यसलाई स्वीकार नगर्ने र जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । संविधान कार्यान्वयनका लागि चुनावको तयारी गर्नुको साटो प्रधानमन्त्री केपी ओलीले जनतालाई झुटो आश्वासन दिईरहेको पनि देउवाको आरोप छ । 

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकार संविधान कार्यान्वयनमा उदासीन रहेको आरोप लगाउनुभयो । देशमा महँगी बढाउँदै सरकार संविधान कार्यान्वयन गर्न छोडेर संसदीय चुनावको खेलमा लागेको आंशका गर्दै पौडेलले त्यसो गरे मुलुक थप अनिश्चितता तर्फ जाने बताउनुभयो ।

यसैवीच पुननिर्माण प्राधिकरणले अहिलेसम्म ९६ वटा गैरसरकारी संस्थाका प्रस्ताव परियोजना स्वीकृत गरेको छ । प्रवक्ता रामप्रसाद थपलियाले ९६ संस्थाको परियोजना स्वीकृति दिएको र ती मध्ये ५० वटासँग त्रिपक्षीय सम्झौता भइसकेको जानकारी दिनुभयो ।

उहाँले गैरसरकारी निकायले आफूले भुकम्पपीडितको निजी घर, सामुदायिक भवन र विद्यालय र स्वास्थ्य चौकी आफैले स्रोत साधन जुटाएर निर्माण र पुननिर्माण गर्ने स्पष्ट पार्नुभयो । प्रवक्ता थपलियाका अनुसार गैरआवसीय नेपाली संघ, रेडक्रस, धुर्मुस सुन्तली फाउण्डेसन लगायत संस्थाहरुसँग सम्झौता भएको छ ।