साविक अनुसार आयात भएपनि अझै ग्याँसको आपूर्तिमा समस्या
काठमाडौं, २१ जेठ । नेपाल आयल निगमले खाना पकाउने ग्यास माग अनुसार अझै आपूर्ती गर्न सकेको छैन । पाँच महिना लामो भारतीय नाकाबन्दीका कारण बजार असन्तुलित भएकाले साविकको आयातले माग धान्न समस्या भएको निगमले जनाएको छ । मासिक आयात केही बढेपनि मागेजति ग्याँस नआउँदा आपूर्ती पूर्णरुपमा सहज हुन नसकेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो । निगमले भारतसँग मासिक ३५ हजार मेट्रिक टन ग्यास मागेपनि २८ हजारको हाराहारीमा मात्रै आयात भइरहेको छ । गएको मे महिनामा २८ हजार ८ सय ६१ मेट्रिक टन ग्यास आयात भएको प्रवक्ता घिमिरेले बताउनुभयो ।
मे महिनामा ३५ हजार मेट्रिक टन आयात गर्ने भनिए पनि हल्दिया डिपो १०÷१२ दिन बन्द भएकाले आयात प्रभावित भएको निगमले जनाएको छ । भारतीय आयल निगमले उडिसाको पारादिपमा हालै संचालन गरेको नयाँ रिफाइनरीबाट थप ग्यास आयातको प्रस्ताव गरेकाले त्यसको गृहकार्य अन्तिम चरणमा पुगेको प्रवक्ता घिमिरेको भनाई छ । उहाँका अनुसार अबको दुई हप्ताभित्र पारादिपबाट थप ८ हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारी भइरहेको छ । त्यसपछि ग्यास आपूर्ती पूर्ण सहज हुने निगमको दाबी छ ।