Thaha

Saturday 21 September - 11:25 am NST

बजेटमाथीको सैद्धान्तिक छलफल आज सकिने


काठमाडौं, २१ जेठ । आर्थिक वर्ष २०७३÷७४ को बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिने भएको छ । बिहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा बोल्न बाँकी सदस्यले आफ्ना धारणा राख्नेछन । त्यसका लागि दुईघन्टाको समय निर्धारण गरिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजै बस्ने दोस्रो बैठकमा अर्थमन्त्री विष्णु पौडेलले  सैद्धान्तिक छलफलका क्रममा सदस्यले राखेका प्रश्नको जवाफ दिनुहुनेछ । हिजोनै अर्थमन्त्रीले जवाफ दिने तय भएपनि नेपाली काँग्रेसले सदन अवरोध गरेका कारण सैद्धान्तिक छलफल र अर्थमन्त्रीले  जवाफ दिन समय आजसम्मका लागि लम्बिएको हो ।

सदनमा आफ्ना धारणा राख्ने सत्तारुढ दलका सांसदले बजेटको पक्षमा र विपक्षी दलका सांसदले बजेटको विपक्षमा आफ्ना धारणा राखेका छन । आन्दोलनरत संघीय गठबन्धनले भने संसद बैठक बहिष्कार गर्दै आएको छ ।  सरकारले गएको शनिवार झण्डै साढे १० खर्ब रुपैयाँको बजेट सदनमा पेश गरेको थियो ।