Thaha

Saturday 21 September - 11:19 am NST

सूर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा हरेक वर्ष १५ हजार जनाको मृत्यु


काठमाडौं, १८ जेठ । 

विश्व सूर्तीजन्य पदार्थ रहित दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सूर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने गरी सूर्तीजन्य पदार्थको उत्पादनको सादा प्याकेजिङ्गका लागि तयार होऔं भन्ने नाराका साथ स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सम्बन्धित संघसंस्थाको सहभागितामा विभिन्न कार्यक्रम हुँदैछ । विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थको कुनै पनि उत्पादनको प्याकेजिङ्गमा स्वास्थ्यसंग सम्बन्धित चेतावनी सहितको चित्र मात्रै राखेर उत्कृष्ट रंगको संयोजन सहित बजारमा ल्याउन आव्हान गरेको छ ।

सूर्तीजन्य पदार्थको प्रयोग घटाउने वा बढाउने भन्ने कुरामा प्याकेजिङ्गको महत्वपूर्ण भूमिका हुने भन्दै संगठनले नयाँ मापदण्ड अपनाउन आग्रह पनि गरेको छ । सूर्तीजन्य पदार्थको सेवनबाट विश्वभर हरेक वर्ष ६० लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा अप्रत्यक्ष धुमपानका कारण ज्यान गुमाउनेको संख्या ६ लाख रहेको छ । नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगका कारण हरेक वर्ष १५ हजार जनाको ज्यान जाने गरेको छ । जनसांख्यीक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा ५२ प्रतिशत पुरुष र १३ दशमलव ३ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्दछन् । सूर्तीजन्य पदार्थको प्रयोगका कारण मुटुरोग, श्वासप्रश्वास, क्यान्सर, गिजा सम्बन्धि लगायतका विभिन्न रोग लाग्ने गरेकाले त्यसबाट आफू मात्रै नभई अप्रत्यक्ष धुमपानको असरबाट अरुलाई पनि जोगाउन धुमपान तथा सूर्तीजन्य पदार्थको प्रयोग रोक्न चिकित्सकको सुझाव छ ।