Thaha

Thursday 25 April - 2:52 am NST

आज सगरमाथा दिवस, मानव पाइला टेकेको ६३ वर्ष पुरा


काठमाडौं, १६ जेठ । 
नवौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको शिखरमा पहिलो पाईला टेकेका थिए । त्यसै दिनको सम्झना गर्दै हरेक वर्ष मे २९ तारिखमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा अहिले काठमाण्डुको पर्यटन बोर्डमा विशेष कार्यक्रम हुँदैछ ।

गतवर्ष विनासकारी भूकम्पका कारण र अघिल्लो वर्ष हिम पहिरोले १६ जना आरोहीको ज्यान जानुका साथै आरोहणको रुटसमेत भत्किंदा दुई वर्ष सम्म सगरमाथाको आरोहण स्थगित गरिएको थियो । यो वर्ष स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथाको आरोहण गरेका छन् । सगरमाथा आरोहणको ६३ वर्षको अवधिमा झण्डै ७ हजार पर्वतारोहीले आरोहण पूरा गरेका छन् । यो वर्षको आरोहणको अन्तिम दिन जेठ १२ गते  झण्डै चार सय आरोही सगरमाथाको चुचुरोमा पुगेका पर्यटन मन्त्रालयले जनाएको छ । एक तथ्याङक अनुसार हालसम्म झण्डै दुईसय ८० जना आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् ।

यसवर्ष पनि एक नेपाली सहित ६ जना आरोहीको ज्यान गएको छ । धेरैजना आरोहणका लागि जाँदा पछिल्लो समय सगरमाथा क्षेत्रमा फोहर बढेको भन्दै सरसफाईको अभियान समेत सन्चालन गरिएको छ । तर त्यो पर्याप्त नभएको र जलवायु परिवर्तनका कारण हिमपहिरो जाने, हिमताल फुट्ने जस्ता खतरा उत्पन्न भएकाले अलि लामो समयका लागि आरोहण रोक्नुपर्नेमा आरोहीहरुले नै जोड दिंदै आएका छन् ।