Thaha

Saturday 18 May - 8:33 pm NST

नवौं गणतन्त्र दिवस मनाईयो


काठमाण्डौं, जेठ १५ । आज नवौँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेको अवसरमा स्वदेश तथा विदेशमा गणतन्त्र दिवस भब्य रुपमा मनाइएको छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको विशेष समारोहमा राष्ट्रपती विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपती नन्दकिशोर पुन, सभामुख ओनसरी घर्ती लगायत विभिन्न राजनीतिक दलका नेता, सांसद, उच्च पदस्थ व्यक्तिहरुको उपस्थिती थियो ।

गणतन्त्र मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विगतलाई गाली गरेर वा कसैको आलोचना गरेर मुलुकले निकास नपाउने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विगतमा राजनीतिक दलहरुबीचको असमझदारीले निम्त्याएको परिणामबाट सिक्दै राष्ट्रिय एकता बलियो बनाउन र सामाजिक सद्भावका लागि लाग्न सबैलाई आग्रह  गर्नुभयो ।  संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिको दिशामा अघि बढ्नुपर्ने मूल दायित्वलाई बिर्संदा देश अन्यौल, अस्थिरता वा अनिश्चितताको बाटोतर्फ धकेलिने भन्दै सचेत र सजग रहन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । मुलुकले नवौं गणतन्त्र दिवस मनाइरहँदा अहिले पनि आम नागरिकले साँचो अर्थमा गणतन्त्रको अनुभूति गर्न पाएका छैनन ।

अहिले पनि हिजो जस्तै ठूला ठालु र पहुँचवालाले नै सरकार र राज्य संयन्त्रबाट फाईदा लिईरहेका छन । गणतन्त्रलाई हिजोको व्यवस्था जस्तै विकृत गराउने क्रियाकलाप भएपछि आम नागरिकले गणतन्त्रमा अपनत्व बोध गर्न सकिरहेका छैनन ।