Thaha

Thursday 25 April - 12:25 pm NST

१० खर्ब ४८ अर्ब ९२ करोडको को बजेट सार्वजनीक

काठमाण्डौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष ०७३–०७४ का लागि झण्डै साढे १० खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट पेश गर्नुभयो । यो चालु बजेट भन्दा दुई खर्ब २९ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालुतर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार रुपैंया अर्थात् ५८.९ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार रुपैंया अर्थात् २९.७ प्रतिशत विनियोजन गरिएको छ ।  संविधान अनुसार आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अगाडि प्रस्तुत गरिएको बजेटमा वित्तीय व्यवस्थातर्फ १ खर्ब १९ अर्ब ८१ करोड नौ लाख रुपैंया अर्थात् ११.४ प्रतिशत विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा फिर्ता प्राप्तिबाट १० अर्ब र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ८९ करोड ११ हजार व्यर्होदा तीन खर्ब ६६ अर्ब १२ करोड ८४ लाख ४३ हजार रुपैंया न्यून हुनेछ । यो कमी पूर्ति गर्न वैदेशिक ऋणबाट एक खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार जुटाइने अर्थमन्त्री पौडेलले बताउनुभयो । त्यसैगरी राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा खुद एक खर्ब ७० अर्ब ४१ करोड २७ लाख छ हजार रुपैंया न्यून हुनेछ । यो न्यूनता पूर्ति गर्न  एक खर्ब ११ अर्ब आन्तरिक ऋणबाट र ५९ अर्ब ४१ करोड २७ लाख छ हजार रुपौं चालु आवको नगद मौज्दातबाट व्यहोरिने अर्थमन्त्रीले पौडेलले स्पष्ट गर्नुभयो । राष्ट्रिय योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ दिएपनि सरकारले जनताका आकांक्षा समेट्न नसकिने निस्कर्ष निकाल्दै सिलिङ नाघेर बजेट ल्याएको हो । नेपालमा पहिलो बजेट २००८ सालमा पाँच करोड २५ लाख २९ हजार रुपैयाँको आएको थियो ।