Thaha

Saturday 18 May - 8:33 pm NST

नवौं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै, मूलुकलाई सम्वृद्धिको बाटोमा अघि बढाउन सहकार्यका लागि प्रधानमन्त्रीको आग्रह

 

काठमाडौं, १५ जेठ ।

नवौँ गणतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेको अवसरमा स्वदेश तथा विदेशमा गणतन्त्र दिवस भब्य रुपमा मनाइदैँ छ । दिवसको अवसरमा आज गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा जलपान समारोहको आयोजना गर्नुभएको छ । जनआन्दोलन र जनयुद्धको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो बलिदानी र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको जगेर्ना, राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, बचन र कर्मले लाग्न राजनीतिक दल तथा सबै नागरिकलाई आव्हान गर्नुभएको छ । उहाँले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र  नेपालको विकासमा अघि बढ्न दिवसले थप प्रेरणा दिओस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति र क्षेत्रका नागरिकले आफू राज्यबाट अपहेलित भएको गुनासो गर्ने ठाउँ नदिएर नेपाली नागरिकलाई जति सुखी र खुशी बनाउन सक्छौं, उति नै गणतन्त्र बलियो र समृद्ध हुन्छ भन्ने कुरामा नेतृत्व तहमा बसेकाले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन ऐतिहासिक उपलब्धिको दिन भएको उल्लेख गनुभएको छ । उहाँले संविधानले सबै नेपालीको हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको भन्दै केही कुरामा असहमति भए वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेताले समेत शुभकामना व्यक्त गरेका छन् ।


यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले मुलूकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यका लागि आग्रह गर्नुभएको छ । भूकम्प, नाकाबन्दी, आन्दोलन जस्ता संकट पार गरी देश पुननिर्माणको दिशामा अघि बढेको भन्दै उहाँले देशलाई समृद्धि तर्फ बढाउन एकताको खाँचो रहेको बताउनुभयो । गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो । संविधान जारी भएपछि आर्थिक विकासले प्राथमिकता पाएको भन्दै प्रधानमन्त्री ओलीले आपसी सल्लाहबाट सहि नीति तय गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । राजनीतिक वा अन्य कुनै पनि खालका असहमति भए वार्ता र संवादबाट समाधान खोज्न उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिको दिशामा अघि बढ्नुपर्ने मूल दायित्वलाई बिर्संदा देश अन्यौल, अस्थिरता वा अनिश्चितताको बाटोतर्फ धकेलिने भन्दै सचेत र सजग रहन आग्रह गर्नुभयो । आर्थिक विकास र सामाजिक समृद्धि बिनाको राजनीतिक अधिकार खोक्रो हुने भन्दै उहाँले राजनीतिक अधिकारले अािर्थक समुन्नतीको ढोका खोलेन भने हामीले चाहेको दीगो शान्ति सम्भव नहुने बताउनुभयो । विगतलाई गाली गरेर र कसैको आलोचना गरेर मुलूकले निकास नपाउने भन्दै उहाँले राष्ट्रिय एकता बलियो बनाउने जिम्मेवारी राजनीतिक दलकै भएको बताउनुभयो ।