Thaha

Tuesday 06 October - 8:21 pm NST

वार्ताको वातावरण बनाउन आग्रह गर्दै सरकारलाई पत्राचार गर्ने तयारी


काठमाडौं, १३ जेठ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताको वातावरण बनाउन आग्रह गर्दै सरकारलाई पत्राचार गर्ने तयारी गरेको छ । उपत्यका बाहिर रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आएपछि भोली विहान मोर्चाको बैठक बसेर सरकारलाई पत्र पठाइने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो । हिजो बेलुकी बसेको मोर्चा घटक तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षको बैठकले वार्ताबाट निकास खोज्न मोर्चा तयार रहेको ठहर निश्कर्ष निकाल्दै सरकारलाई पत्र पठाउने तयारी गरेको हो । वार्ता बिरोधी नभएको भन्दै मोर्चाले आफूहरु सार्थक वार्ताको पक्षमा रहेको बताउँदै आएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मोर्चालाई वार्तामा आउन आग्रह गर्दै पत्र लेख्नुभएको थियो । यसैबीच, काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको मधेशी दल सहित आदिवासी जनजाति दल सम्मिलत संघीय गठबन्धनले आज कलंकीमा बिरोध सभा गर्ने भएको छ । सोल्टिमोडबाट दिउँसो ४ बजे ¥यालीसहित कलंकी पुगेर सभा गरिने गठबन्धनले जनाएको छ ।