Thaha

Saturday 21 September - 12:31 pm NST

१ सय ७८ वर्षपछि चितवनमा सिम्रिककाने लियोसिच्लआ चरा फेला


काठमाडौं, १२ जेठ । चितवनको उपरदाङ्गगढीको जंगलमा १ सय ७८ वर्षपछि सिम्रिककाने लियोसिच्लआ फेला परेको छ । चराविद्हरुको समूहले गएको सात र आठ गते यो चरा फेला पारेको हो । सिम्रिककाने लियोसिच्लआ १ सय ७८ वर्ष पहिले फेलापछि नेपालमा अहिलेसम्म देखिएको थिएन । चराविद् डाक्टर हेमसागर बरालका अनुसार १ सय ७८ वर्ष पहिले नेपालबाटै यसको नमूना संकलन गरेर अध्ययन गरिएको थियो । त्यसपछि नेपालबाट लोपभएको मानिएको चरा ८ वटाको समूहमा फेला परेपछि बाँकी लोप भएका ८ प्रजातिको पनि थप अनुसन्धान आवश्यक भएकोमा चराविज्ञ टिका गिरीले जोड दिनु भएको छ । यो चरा नेपाल बाहेक भारत, चीन, भुटान र बर्माको उत्तरी भागमा पाईन्छ । रंगीचंगी चरा निक्कै सुन्दर र लजालु स्वभावको हुने चराविद् बरालले जानकारी दिनुभयो । २३ सेन्टीमिटर लामो यो चरा भ्याकुर प्रजातिमा पर्छ । चराविद् बरालसंगै वर्ड एजुकेशन सोसाइटीका विज्ञ बद्री चौधरी र टिका गिरी सहित १० जनाको टोलीले यसको सानो बथाननै फेला पारेपछि थप अध्ययन गरिरहेको छ । संसारबाट अतिसंकटापन्न चराका बारेमा थप अध्ययन आवश्यक रहेकोमा चराविद्हरुले जोड दिएका छन ।