Thaha

Saturday 21 September - 12:19 pm NST

जनचेतना कार्यक्रमले पैदलयात्रु दुर्घटनामा पर्नेक्रममा कमी आउन सकेन


काठमाडौं, १२ जेठ । सडकको सुरक्षित प्रयोगका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु भईरहेपनि पैदलयात्रु दुर्घटनामा पर्ने क्रम कम हुन सकेको छैन । ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार गएको वर्ष भएका दुर्घटनामा पर्ने मध्ये ४३ प्रतिशत पैदल यात्रु रहेका थिए । पैदलयात्रुपछि दुर्घटनामा पर्ने दुईपांग्रे साधनहरु साईकल र मोटरसाईकल रहेका महाशाखाका सहायक प्रवक्ता डिएसपी राजेन्द्र भट्टले जानकारी दिनुभयो । सडक दुर्घटनाको अहिले सम्मको अवस्था हेर्दा सबैभन्दा बढी जोखिमपूर्ण प्रयोगकर्ता पैदल यात्रु नै रहेको उहाँको भनाई छ । यस्ता दुर्घटनामा केही केही मात्रामा ठूला सवारीको लापरवाही हुने गरेपनि धेरै जसो भने पैदलयात्रुको लापरवाहीकै कारण हुने गरेको पाईएको छ । जथाभावी बाटो काट्ने, आकाशेपुल भएपनि त्यसैको मुनिबाट बाटो पार गर्ने र जेब्रा क्रसिङ्गको प्रयोग नगरेको अवस्थामा बढी दुर्घटना हुने गरेको सहप्रवक्ता भट्टले बताउनुभयो । ट्राफिक प्रहरीले बेला बेलामा जनचेतना मूलक कार्यक्रम गर्दै आएपनि मानिसको मनस्थिती र व्यवहार नसच्चिएसम्म सुधार हुन नसक्ने उहाँको भनाई छ । ट्राफिक प्रहरीले केही समय अघि आकाशेपूल प्रयोग नगर्नेलाई ५० रुपैंया जरिवाना गराउने गरेको थियो ।  तर जरिवाना रकम बैंक दाखिला गराउने व्यवस्था लागू भएपछि कारवाही रोकिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष सडक दुर्घटनामा १२ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमा ४९ प्रतिशत पैदलयात्रु, साईकल र मोटरसाईकल यात्रु रहेका संगठनको तथ्यांक छ ।