पक्राउ परेका पत्रकार झालाई रिहा गर्न माग
काठमाडौं, १२ जेठ । नेपाल पत्रकार महासंघ ललितपुर शाखा र क्रान्तिकारी पत्रकार संघले ललितपुरका पत्रकार शेषनारायण झा लाई तत्काल रिहा गर्न माग गरेका छन् । क्रान्तिकारी पत्रकार संघका संयोजक गोविन्द आचार्यले अस्ती राती घर फर्कने क्रममा सिंहदरबार गेटको तस्विर खिचेको आरोपमा झालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएको बताउनु भयो । आचार्यले झालाई अबिलम्ब र निशर्त रिहा गर्न माग गर्नु भएको छ । झा समयबोध म्यागजिनमा कार्यरत हुनुहुन्छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पनि घटना प्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाको निन्दा गर्दै महासंघले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसमाथि अंकुश लगाएर सरकार पुनः निरङकुशतातिर फर्कन लागेको अनुभूति भएको भन्दै शाखाले पत्रकार झालाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघले पत्रकार पक्राउमा संलग्न प्रहरीलाई कारवाही गर्न समेत सरकारसंग माग गरेको छ ।