Thaha

Friday 31 January - 9:42 am NST

माओवादी पार्टिहरुबिच एकता घोषणा, पार्टिको नाम नेकपा माओवादी केन्द्र


काठमाडौं, ७ जेठ । 
विभाजित १० वटा माओवादी घटकबीच एकता भएको छ । काठमाडौंको बबरमहलमा रहेको एक पाटी प्यालेसमा बिहीबार आयोजित एकता घोषणासभाबाट नयाँ पार्टी घोषणा गरिएको हो । नयाँ पार्टीको नाम नेकपा (माओवादी केन्द्र) राखिएको छ ।  एकतापछि पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष बनाइएको छ । नवगठित माओवादी केन्द्रको ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरिएको छ । 


अहिले पाँच सय ९९ जना केन्द्रीय सदस्यको टुंगो लागेको र बाँकी एक सय जना पछि थपिने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले यो वर्ष भित्र महाधिवेशन गर्ने बताएको छ । एकतामा एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाल, गौरवशाली पार्टी, वामपन्थी एकता मञ्च, स्वतन्त्र रुपमा रहेकी जयपुरी घर्ती मगर सहभागी छन् । केही पार्टीनै गाभिएका छन् भने केही पूरानो पार्टी परित्याग गरी सहभागी भएका छन् ।  एकताअघि भएको संयुक्त अधिवेशनले प्रचण्डलाई नेतृत्वमा चयन गर्दै उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरेको छ । 
माओवादी केन्द्रले २४ सदस्यीय सचिवालय गठन गरेको छ । त्यस्तै, संघीयताअनुसार केन्द्र, प्रदेश, राज्य, जिल्ला, इलाका, गाउँ, नगर समिति बन्ने विधानसमेत अधिवेशनले पारित गरेको छ । अधिवेशनले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको संयुक्त राजनीतिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमा पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिमा जाने, राष्ट्रियता, जनजीविकाको सबालमा सडक संघर्षलाई प्राथमिकता दिँदै सदन र सरकारमा दबाब दिने विषय उल्लेख छ ।


यसैबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको विजयको दिन सुरु भएको बताउनुभएको छ । कम्युनिष्टका पाका नेता कृष्णदास श्रेष्ठको अध्यक्षतामा भएको पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीका पराजयका दिन सकिएको र विजयको दिन सुरु भएको बताउनुभएको हो । उहाँले क्रान्तिकारी मन केही कुँडिए र माओवादी कमजोर भए पनि अब देशले हार्ने दिनको अन्त्य भएको दाबी गर्नुभयो । नेता रामबहादुर थापा बादलले सत्रुहरुको षड्यन्त्र चिर्दै माओवादीहरु एक ठाउँमा आउन सफल भएको बताउनुभयो । उहाँले जनताको अपेक्षा, सहिद, बेपत्ता परिवारको सपना पूरा गरिने प्रतिबद्धता जनाउनुभयो ।