Thaha

Saturday 21 September - 2:22 pm NST

जापानिज ईन्सेफ्लाईटिस विरुद्धको खोप अभियान शुरु


काठमाडौं, २६ बैशाख । 
सरकारले आजदेखि जापानिज ईन्सेफ्लाईटिस विरुद्धको खोप अभियान शुरु गरेको छ । अभियान अन्तर्गत ४४ जिल्लाका १ वर्ष देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप दिईने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । अभियानका लागि १६ हजार बढी खोप केन्द्रमा स्वास्थ्य कार्यकर्ता तथा महिला स्वास्थ्य स्वयम्सेविका खटिएका छन्  । महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यी जिल्लाका ३४ लाख भन्दा बढी बालबालिकालाई जापानिज ईन्सेफ्लाईटिस विरुद्धको खोप दिईनेछ । एक महिना सम्म अभियानका रुपमा नै खोप कार्यक्रम लैजाने र त्यसपछि एक वर्ष पुगेका बालबालिकालाई नियमीत खोप कार्यक्रम अन्तर्गत नै खोप दिने योजना रहेको खोप शाखाका प्रमुख मुकुन्द गौतमले जानकारी दिनुभयो ।

सरकारले यसअघि ३१ जिल्लामा यो खोप अभियान पूरा गरि नियमीत कार्यक्रममा लगिसकेको छ । लामखुट्टेको टोकाईबाट लाग्ने यो पहिले तराईका जिल्लाहरुमा मात्रै देखिने भएपछि पछिल्लो समय उपत्यका क्षेत्र संगै पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेको छ । यातायात सेवाको विस्तार र बढ्दो गर्मीका कारण उच्च क्षेत्रमा पनि जापानिज ईन्सेफ्लाईटिसका विरामी देखिन थालेका चिकित्सकले बताएका छन् । सरकारले सन् २००६ देखि जापानिज ईन्सेफ्लाईटिस विरुद्धको खोप दिन शुरु गरेको हो ।