Thaha

Saturday 21 September - 2:14 pm NST

सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुने


काठमाण्डौं, २६ बैशाख । 
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आज व्यवस्थापिका–संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुहुनेछ ।  त्यसका लागि व्यवस्थापिका संसद सचिवालयले सम्पूर्ण तयारी पुरा गरेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सजावट र राष्ट्रपतिको सवारीको पूर्व अध्यास समेत गरिएको छ । संसद सचिवालय, नेपाली सेना र ट्राफिक प्रहरीले यसअनुसार आवश्यक गृहकार्य थालेका छन् । शितल निवासबाट बबरमहलसम्म राष्ट्रपति भण्डारी विशेष सवारीमा आउनु हुनेछ भने बबरमहलबाट संसद भवनसम्म भने अगाडि पछाडि घोडा सहितको रिसल्ला रहने सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई संसदको मूल ढोकामा नेपाली सेनाको टुकडीले सलामी दिनेछ । राष्ट्रपतिको स्वागतका लागि संसद भवनको मूल ढोका, सलामी ग्रहण गर्ने ठाउँ, रोष्ट्रम र भवन आसपासको क्षेत्रलाई फूलमाला र नेपाली झण्डाले झकिझकाउ बनाइएको छ ।  राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्न लाग्नुभएको हो ।

व्यवस्थापिका–संसद्बाट गत कात्तिकको पहिलो साता भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, विनाशकारी भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडित जनतालाई राहत, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा समावेश हुने अर्थ मन्त्रालयले जनाएको छ ।