Thaha

Saturday 21 September - 2:35 pm NST

नेपालमा विनाशकारी गोरखा भूकम्प गएको आज एक वर्ष पूरा, पुननिर्माणको काम अघि नबढ्दा भूकम्पपीडित मर्कामा


काठमाण्डौं, १२ बैशाख ।
नेपालमा विनाशकारी गोरखा भूकम्प गएको आज एक वर्ष पूरा भएको छ । गत वर्ष बैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ७ दशमल ६ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पमा परी करिब नौ हजार जनाको मृत्यु भयो भने झण्डै २२ हजार नागरिक घाइते भए । सरकारी तथ्याङ्क अनुसार ५ लाख ७ हजार १७ घर पूर्ण क्षति हुनुका साथै २ लाख ६९ हजार १ सय ९० घरमा आँशिक क्षति पुगेको छ । हजारौँ घरबारविहीन भए । पूर्ण रुपमा ढल्न नसकेका भौतिक संरचना जोखिमपुर्ण बनेका छन् । पुननिर्माणको काम अघि नबढ्दा भूकम्पपीडित थप पीडित भएका छन् ।

गतवर्ष बैशाख १२ यता निरन्तर आइरहेका परकम्पले अझै त्रसित बनाइरहेको छ । वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी पटक पराकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४  रेक्टर स्केल र त्यसभन्दा माथिका ४ सय ५० पराकम्प गएका छन् । भूकम्पको पराकम्प जान नरोकिएकाले फेरि ठूलो भुकम्प जाने हो कि भन्ने त्रास अझै कायमै छ । अझै कम्तीमा पनि एक वर्ष पराकम्प जाने क्रम नरोकिने भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीले बताउनुभयो । 


स्मृतिमा कार्यक्रम :
विनाशकारी भूकम्प गएको वर्ष दिन पुगेको स्मृतिमा आज सरकारी र गैरसरकारी संघ, संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना छन् । भूकम्प गएको ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प स्मारक निर्माण कार्यको शिलान्यास गर्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । यस्तै सरकारले आजको दिनलाई भूकम्प स्मृति दिवसको रुपमा भूकम्पमा परी दिवंगत भएकाप्रति धरहरा परिसरमा श्रद्धाञ्जलीसहित पुष्पगुच्छा अर्पण कार्यक्रम गरेको छ ।

कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली सरिक हुनुभयो । काठमाडौंमा कार्यक्रम हुने समयमा  नै भूकम्प प्रभावित जिल्ला र स्थानीयस्तरमा श्रद्धाञ्जली कार्यक्रम हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । यस्तै, बेलुका माइतिघर मण्डलामा र सम्बन्धित जिल्ला एवं स्थानीयस्तरमा मैनबत्ती बाली श्रद्धासुमन अर्पण गरिनेछ । त्यस्तै, प्रधानमन्त्री ओलीको उपस्थितिमा आज सिन्धुपाल्चोकको चौतारामा निजी आवास अनुदान सम्झौताको कार्यक्रम सुरु गरिने भएको छ । प्राधिकरणका अध्यक्षसमेत रहेका ओलीले आज  नै ओखलढुंगाको रुम्जाटारमा निजी आवास पुननिर्माणको शुभारम्भ गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, भूकम्प अतिप्रभावित ११ वटा जिल्लाका ४ सय ८ वटा गाविसहरुमा आवास अनुदान प्राप्त गर्न योग्य लाभग्राहीहरुको सूची प्रकाशन गरी अनुदान सम्झौता प्रकृया अघि बढाइने प्राधिकरणका सहायक प्रवक्ता डाक्टर भीष्म भूषालले जानकारी दिनुभयो । आजै भूकम्प अति प्रभावित ९ वटा जिल्लामा  कम्तिमा एक÷एक वटा गाविसमा निजी आवास पुनर्निर्माण र कम्तिमा एक–एक वटा सामुदायिक आवास भवनहरुको निर्माण कार्य शुभारम्भ गर्ने समेत तय भएको प्राधिकरणले जनाएको छ ।