Thaha

Saturday 21 September - 2:07 pm NST

निर्माणाधिन आयोजना सम्पन्न भए १० वर्षमा बिजुली निर्यात गर्न सकिने


काठमाडौं, ८ वैशाख  । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले अहिले निर्माणाधिन जलविद्युत आयोजना सम्पन्न भए आउँदो १० वर्ष भित्र नेपाल विद्युतको निर्यातकर्ता बन्न सक्ने बताउनुभएको छ । ठूला जलविद्युत आयोजनाहरुको निर्माणको कामले गति लिईसकेको भन्दै उहाँले ति पूरा भए सन् २०२४÷२०२५ सम्ममा नेपाल पूर्ण रुपमा बिजुलीको निर्यातकर्ता बन्न बताउनुभएको हो । तर त्यसका लागि सरकारी र गैरसरकारी क्षेत्रको प्रतिबद्धता अत्यावश्यक रहेकोमा पन्तको जोड छ । थाहा सन्चार नेटवर्कसंग कुरा गर्दै कार्यकारी अधिकृत पन्तले भारत संगको विद्युत खरिद सम्झौताको कार्यान्वयन संगै हिउँदमा आयात गरेपनि वर्षामा निर्यात गर्न सक्ने गरी काम गरे आउँदो २÷४ वर्षमा लोडसेडिङ्ग अन्त्य गर्न सकिने बताउनुभयो । जलविद्युत आयोजना निर्माणमा हुने अवरोधतर्फ संकेत गर्दै पन्तले निर्माणस्थल वरपरका बासिन्दा लगानी भित्रोस्, आयोजना पूरा होस् र आफ्नो दैनिक जीवन सुध्रियोस् भन्ने आशामा रहेको भन्दै यसमा यसमा राजनीति गर्नु ठिक नभएको बताउनुभयो । कुनै पनि आयोजनाहरु लगानीकर्ताको हो भन्ने बुझाईले समस्या आएको भन्दै उहाँले निश्चित समय पछि नेपाललाई हस्तान्तरण हुने भएकाले दीर्घकालिन रुपमा हाम्रै हो भन्ने सोचका साथ काम गर्नुपर्ने पनि बताउनुभयो । लगानीकर्ताको विरोध गर्नुभन्दा भित्रिएको लगानीको दुरुपयोग हुन नदिन तथा नेपाल र नेपालीको हितमा खर्च गराउन हरेक नेपाली सक्रिय हुनुपर्नेमा पन्तको जोड छ ।