Thaha

Saturday 21 September - 2:35 pm NST

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु


काठमाण्डौं, २ बैशाख । 
पाँच देखि १२ बर्षसम्मका बालबालिकालाई लक्षित गरी सरकारले आजदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ सुरु अभियान बैशाख महिनाभर चल्नेछ । अभियान अन्तर्गत आजदेखि १४ गतेसम्म चेतनामूलक र प्रचारात्मक तथा वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम हुनेछ ।

अभियानका क्रममा इँटाभट्टा तथा औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकका बालबालिका र तीनका अभिभावकसँग पनि अन्तरक्रिया हुने शिक्षा विभागले जनाएको छ । विभागका अनुसार कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका अझै विद्यालय बाहिर रहेका छन् । प्राथमिक तह अध्ययन गर्ने उमेर समूहका मात्रै १ लाख ६ हजार ३ सय ७ बालबालिका विद्यालय जान पाएका छैनन् ।

विभागका निर्देशक बैकुण्ठ अर्यालले विद्यालय बाहिर कमजोर र न्यून आय भएका समुदायका बालबालिका धेरै रहेकाले भर्ना अभियान यस बर्ष त्यस्ता समुदायमा केन्द्रित गरिएको बताउनुभयो । विभागले विद्यालय नआउने बालबालिकाको गाउँ पहिचान गरिसकेकाले २१ जिल्लामा १ सय ३० बैकल्पिक सिकाई केन्द्र खोलेर कक्षामा ल्याउने योजना पनि विभागले बनाएको छ ।