Thaha

Saturday 21 September - 4:39 pm NST

संसदीय सुनुवाई समिति गठनमा देखिएको विवाद अब मतदानबाट टुंगिने


काठमाण्डौं, २१ चैत ।
संसदीय सुनुवाई समिति गठनमा देखिएको विवाद अब मतदानबाट टुंगो लाग्ने भएको छ । व्यवस्थापिका संसद कार्य संचालनको नियमावली मस्यौदा समितिको आजको बैठकमा विवाद समाधानको प्रयास हुने र विवाद समाधान नभएमा भोली चुनाव गर्ने तयारी भएको सांसद कृष्णभक्त पोख्रेलले बताउनु भयो । विवाद समाधानका लागि यसअघि माओवादी सांसद रामनारायण विडारीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । दिउँसो दुई बजे सिंहदरबारमा समितिको बैठक बस्ने पोख्रेलले बताउनु भयो । उहाँका अनुसार समितिले उपसमितिको सुझाबका आधारमा अन्तिम पटक सहमतिको प्रयास गर्नेछ ।

त्यसो हुन नसकेमा भोली बस्ने बैठकमा विवादीत विषयलाई मतदानबाट टुंगो लगाउने तयारी गरिएको छ । सत्ता साझेदार एमाले र एकीकृत माओवादी नयाँ संविधान कार्यान्वयनकै लागि पनि संवैधानिक प्रावधान अनुसार १५ सदस्यीय बनाउनु पर्ने पक्षमा छन भने प्रतिपक्षी कांग्रेस अहिले पनि संक्रमणकाल रहेकोले अन्तरिम संविधान अनुसार ७५ सदस्यीय बनाउनुपर्ने अडानमा छ ।  उपसमितिले पनि १५ सदस्यीय नै बनाउन सुझाएको छ । नियमावली नबन्दा न्यायपरिषद्ले सिफारिस गरेका ११ जना न्यायधीयश र विभिन्न देशमा राजदूुत नियुक्तिको विषय प्रभावित भएको छ ।