Thaha

Friday 19 April - 12:22 pm NST

बजेटका कारण सोलार बत्ती विस्तारमा ढिलाई


काठमाण्डौं, २० चैत । टिकाराम तामाङ, 

सरकारले समयमै बजेट नदिँदा काठमाडौं उपत्यकामा सोलार बत्ती विस्तारको काम प्रभावित भएको छ । नयाँ सडक, धर्मपथ, सिंहदरबार, बसन्तपुर लगायत ठाउँमा सोलार बत्ती जडान भएपनि समयमै अर्थमन्त्रालयले बजेट नदिँदा अरु ठाउँको काममा ढिलाई भएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले ९० करोड रुपैयाँ माग गरेको र बजेट निकास ढिला हुँदा काम गर्न अप्ठेरो परेको बताउनुभयो । तामाङले भन्नुभयो, ‘असारमा ५० अरव नै दिए नि के काम, बरु ५ करोड साउनको १ गते दिएको भए काम हुन्छ, खरिद प्रकृयाकै लागि ६३ दिन लाग्छ । खरिद प्रकृयामै ७० दिन जति लाग्छ भने अब कत्ति दिन बाँकि छ र ? बिस दिनमा कति काम हुन्छ ?’ 


अब नयाँ आर्थिक वर्ष सुरु हुन लगभग तीन महिना बाँकी छ । ९० करोड रुपैयाँमध्ये झण्डै ६० करोडको सोलार जोड्ने क्षेत्र पहिचान भइसकेको कार्यकारी निर्देशक तामाङले थाहा सञ्चार नेटवर्कलाई बताउनुभयो । महानगरभित्रको १ सय २० किलोमिटर सडकमा यसैवर्ष सौर्य सडक बत्ती जडान गर्ने योजना छ । यसमा ६० प्रतिशत अनुदान सरकारले दिनेछ भने महानगरले २५ प्रतिशत लगानी गर्नेछ । बाँकी उपभोक्ताबाट उठाइनेछ । सडक बत्ती जोड्न भित्री सडक र मुख्य सडक प्राथमिकतामा परेका छन । एउटा सोलार बत्ती जडान गर्न झण्डै एक लाख रुपैयाँ लाग्ने अनुमान छ ।

हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत बसन्तपुर क्षेत्रमा ९२ वटा सोलार जडान गरिएको छ । बजेट छिटो निकासा भएमा असारसम्ममा धेरै ठाउँमा सोलारबत्ती जडान गरिसक्ने प्रमुख कार्यकारी तामाङले दाबी गर्नुभयो । कर्मचारीतन्त्रमा देखिएको खराब प्रवृत्तिका कारण पनि काममा सुस्तता आएको उहाँले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी जुन ढंगमा काम गर्न खोज्छौ, त्यो स्प्रिडमा धेरै मान्छे छन् तर केहि खराब मान्छे छन् जसको काम जाँगिर शुरु गरेदेखि त्यहि खराब काम धन्दा नै गरेर बसेका छन् । त्यस्ता प्रवृत्तिकाले काम गर्न खोज्नेलाई नि गर्नै वातारण हुदैन ।’