Thaha

Saturday 21 September - 4:23 pm NST

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि मतदान जारी


काठमाण्डौं, २० चैत । 
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि देशैभर निर्वाचन सुरु भएको छ । देशभरका ३३ वटै निर्वाचन केन्द्रमा बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । बारको अध्यक्षका लागि चार उम्मेदवार प्रतिष्पर्धामा रहेपनि प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वृहत प्रगतिशील, पेशागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूहको नेतृत्व अधिवक्ता बिजयकान्त मैनाली र वृहत् लोकतान्त्रिक कानुन व्यवसायी समूहको नेतृत्व अधिवक्ता शेरबहादुर केसीले गर्नुभएको छ । मैनाली र केसीले सबै पदमा प्यानलसहित उमेद्बारी दिनुभएको छ ।

मैनाली समूहमा नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, वैद्य माओवदी, नयाँ शक्ति नेपाललगायत दलमा आस्था राख्ने कानुन व्यवसायी सहभागी छन् भने केसी समूहमा नेपाली काँग्रेसमा आस्था राख्ने कानुन व्यवसायी समेटिएका छन् । तराई मधेश केन्द्रित राजनीतिक दलमा आस्थ राख्ने कानुन व्यवसायीले छुट्टै पहिचानवादी समूह बनाएर अध्यक्षसहित सात पदमा उमेद्बारी दिएका छन् । पहिचानवादी समूहको नेतृत्व मनोहर साहले गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टी वा स्वतन्त्रबाट अधिवक्ता रामप्रसाद प्रजापति अध्यक्षको प्रतिष्पर्धामा हुनुहुन्छ ।  

पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ । कूल नौ हजार ५सय २२ मतदाता रहेको बारमा काठमाडौबाट सबैभन्दा बढी ५ हजार ८ सय ६२ जना मतदाता छन ।