Thaha

Saturday 21 September - 4:37 pm NST

माग बढेकाले पेट्रोल र ग्याँसको अभाव भएको निगमको दावी


 काठमाडौं, १७ चैत । नेपाल आयल निगमले बजारमा माग बढेकाले अहिले पेट्रोल र ग्यासको अभाव देखिएको दाबी गरेको छ । भारतीय आयल निगमले साविक बमोजिम नै पेट्रोल र ग्याँस दिइरहेपनि नेपाली बजारमा भने उपभोक्ताले सहजै पाउन सकिरहेका छैनन् । होली पर्वको विदाका कारण तीन दिन इन्धन लोड नहुँदा आयात प्रभावित भएको र अहिले साविक बमोजिम नै आयात भइरहेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । नाकाबन्दी खुलेको केही समयसम्म पनि आपूर्तीमा कडाइ गरेको भारतले अहिले साविक बमोजिमकै इन्धन दिइरहेको छ । तर लामो समय अभाव भएकाले एकैपटक माग पूर्ती गर्नुपर्दा अभाव देखिएको निगमको भनाई छ । सामान्य अवस्थामा दैनिक साढे ३ लाख लिटर पेट्रोल खपत हुने उपत्यकामा ६ लाख लिटर पेट्रोल पठाउँदा पनि अभाव देखिएको छ । ग्यास पनि साविक बमोजिम दैनिक ५०÷६० बुलेट आयात भइरहेको तर माग बढेर झण्डै ७५ बुलेट पुगेपछि सबैलाई पु¥याउन समस्या भएको प्रवक्ता घिमिरेले बताउनुभयो । फेरि नाकाबन्दीको हल्ला चलाइएकाले उपभोक्ताले संचित गर्न खोज्दा अभाव देखिएको भन्दै निगमले हल्लाको पछि नलाग्न र अनावश्यक संचित नगर्न पनि उपभोक्तालाई आग्रह गरेको छ ।