Thaha

Saturday 21 September - 6:14 pm NST

नेपाल पत्रकार महासंघले आज ६१ औं स्थापना दिवस मनाउँदै


काठमाण्डौं, १६ चैत । 
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज आफ्नो ६१ औं स्थापना दिवस मनाउँदैछ । दिवसका अवसरमा काठमाण्डुमा महासंघ केन्द्रिय समिति तथा जिल्ला शाखाहरुले बिहान प्रभातफेरी निकालेका छन् । भोली दशरथ रंगशाला काठमाण्डुमा पत्रकार र राजनीतिकर्मी बीच मैत्रीपूर्ण फूटबलको आयोजना गरिएको छ । दिवसका अवसरमा महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले जस्तोसुकै परिस्थितीमा पनि श्रमजीवी पत्रकारहरुको हकहित, लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ सशक्त रुपमा लागिरहने प्रतिबद्धता जनाउनुभएको छ । श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था नाजुक रहेको भन्दै उहाँले सम्बन्धि सबै पक्षलाई ऐन कार्यान्वयनमा गम्भीर हुन आग्रह गर्नुभएको छ ।

संविधान जारी हुने क्रम र त्यसपछिको समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना भईरहेकाले पत्रकारको भौतिक र पेशागत सुरक्षाको चुनौती गम्भीर बनेको महासंघको वक्तव्यमा उल्लेख छ । महासंघका महासचिव उजीर मगरले श्रमजीवी पत्रकारको हक सुनिश्चित गर्नका लागि महासंघलाई पूर्ण रुपमा ट्रेड युनियनका रुपमा स्थापित गर्न विधान संसोधन गर्न लागिएको बताउनुभयो । महासंघको हिजो र अस्ति काभ्रेमा बसेको सातौं केन्द्रिय समिति बैठकले विधान संसोधनका लागि आउँदो बैशाखमा साधारण सभा बोलाउने निर्णय गरेको छ ।