Thaha

Saturday 21 September - 6:16 pm NST

मासु बधशाला व्यवस्थित गर्न स्वच्छ मासु अभियान सुरु उपत्यकाका मासु पसल र बधशालाको दैनिक अनुगमन गरिने


काठमाडौं, १४ चैत । मासु बधशाला ब्यवस्थित गर्न र उपभोक्तालाई सचेत गराउन भन्दै सरकारले स्वच्छ तथा स्वस्थ मासु अभियान सन्चालन शुरु गरेको छ । पशुपंक्षी विकास मन्त्रालयले बधशालाहरु ब्यवस्थित बनाउन, मासु पसल दर्ता गरी तोकिएका मापदण्ड अनुसार सन्चालन गराउन र उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपभोग गर्न सचेत बनाउन बधशालादेखि भान्छासम्म स्वच्छ र स्वस्थ मासु अभियान सन्चालन गरेको हो । बधस्थल र मासु बेच्ने ठाउँको न्यूनतम मापदण्ड पालना, मासु उत्पादन, ओसारपसार र बेचबिखनमा उचित सरसफाई, मासुको सम्पर्कमा आउने व्यक्ति, औजार र सामानको सरसफाई, फोहर मैलाको उचित व्यस्थापन लगायतका कुरामा सप्ताहव्यापी अभियान अन्तर्गत विशेष जोड दिईनेछ । सप्ताहब्यापी कार्यक्रममा उपत्यकाका तीन जिल्लामा मासु पसल, बधशालाहरुको अनुगमन गरी मासुका नमुना संकलन गरिने छ । मन्त्रालय, पशु सेवा विभाग र कार्यालयहरुबाट दैनिक अनुगमन र निरिक्षणको काम संगै व्यवसायी र उपभोक्तालाई गुणस्तरबारे सचेत गराउने काम हुने मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा मापदण्ड विपरित सन्चालन भएका पसललाई सातदिनको समय दिने र अर्को पल्ट अनुगमनमा जाँदा पनि सुधार भएको नपाए कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।