Thaha

Tuesday 23 April - 7:00 pm NST

चीनसँगको सम्झौता ऐतिहासिक भएपनि कार्यान्वयनको क्षमता हुनुपर्नेमा विज्ञहरुको जोड


काठमाडौ, ८ चैत ।

विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीनसँग भएको १० बुँदे सम्झौता ऐतिहासिक भएपनि त्यसलाई कार्यान्वयन गर्ने क्षमता नेपालले बढाउनु पर्ने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा चीनकालागि पूर्व नेपाली राजदुत टंक कार्कीले प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा भएको १० बुँदे सम्झौता नेपालको हित गर्ने खाल्को भएपनि नेपालले सम्झौता पछाडिको दायित्व निर्वाह गर्ने क्षमता बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्किले प्रधानमन्त्रीको भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपेको र पारवहन सम्झौता ऐतिहासिक भएको भन्दै पारवहन सम्झौताका कारण पछि आवश्यकता पर्दा तेस्रो मुलुकबाट समेत पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो  अर्थविद्ध डा. विश्वम्भर प्याकुरेलले नेपाल र चीनवीच भएको पारवहन सम्झौता उपलब्धिमुलक भएपनि नेपालले कनेक्टिभीटीका लागि जोड नदिए आशागरे जस्तो उपलब्धि हासिल हुन नसक्ने बताउनुभयो ।  उहाँले भन्नुभयो,‘सम्झौता स्वागत योग्य छ तर सम्झौता कार्यान्वयन मुख्य विषय हो ।’ प्याकुरेलले चीनले धेरै बस्तुमा निर्यात शुल्क नलिने ब्यवस्था भएपनि प्राविधिक पक्षमा होमवर्क नगर्दा उपलब्धि हासिल गर्न नसकिरहेको बताउनुभयो ।

यस्तै परराष्ट्रविद्ध हिरण्यलाल श्रेष्ठले सम्झौताले नेपालको तेलसहित अन्य बस्तुकोलागि सेन्ट्रल एसियासँगको बाटो खुलेकोले ईन्धन ब्यापारमा विविधिकरण भएको बताउनुभयो । हिल्सामा पुल निर्माणपछि मानसरोवर जाने बाटो छोटो हुँदा धार्मिक पर्यटन बढ्ने र पोखरा एयरपोर्टले नेपालको पर्यटन विकासमा मद्दत गर्ने, बैंकिङ क्षेत्रमा भएको सम्झौताले ब्यापारलाई पारदर्शि र सहज बनाउने विश्वास ब्यक्त गर्नुभयो ।