Thaha

Saturday 21 September - 6:37 pm NST

राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जमा जलयात्रा, होमस्टे र जंगल सफारीमा व्यस्त


काठमाण्डौं, ८ चैत । 
बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड  ह्यारी आज बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्रा, होमस्टे र जंगल सफारीमा व्यस्त हुनु भएको छ । जलयात्राको मज्जा लिनुका साथै ह्यारीले निकुञ्जका वन्यजन्तुको अवलोकन गर्नुभएको छ । बिहानै हेलिकप्टरमार्फत बर्दिया अवतरण गरेपछि राजकुमार ह्यारी गँैडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गर्नुभयो । त्यसपछि झन्डै आधा घन्टा जंगलमाा पैदलयात्रा गर्नुभयो । पैदल यात्राका क्रममा ह्यारीले पैदल बाघ संरक्षणका लागि बाघको गतिविधि ट्रापिङ गर्दै आएको क्यामरा अवलेकान गर्नुभयो । बेलायती राजकुमार ह्यारीले बाघ हिँडेको जस्तो हिँडाइ गरी ट्रयापिङ कार्यबारे जानकारी पनि लिनुभयो । 


बर्दिया राष्टिय निकुञ्जका प्राविधिक र विश्व वन्यजन्तु संरक्षण कोषका प्राविधिकले बाघको ट्रयापिङ प्रविधिबारे राजकुमार ह्यारीलाई जानकारी गराएका थिए । प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनुभयो । निकुञ्जका विभिन्न चार ठाउँमा राखिएका हात्तीले राजकुमार ह्यारीको स्वागत गरेका थिए । हात्तीको शरीरमा वेलकम टु ह्यारी इन नेपाल भनेर लेखिएको थियो । 


निकुन्जमा जानकारी लिएपछि ह्यारीले बर्दिया सूर्यपटुवा गाविसको जैविक मार्गमा रहेको थारू होमस्टेको अवलोकन गर्नुभयो । थारू होमस्टे अवलोकनका अवसरमा थारू नाच र संस्कृति प्रदर्शन गरिएको थियो । ह्यारी आज बर्दियाबाट लामजुङ जानुहुनेछ भने भोलि पोखरामा जानुहुने बेलायती दूतावासले जनाएको छ । रासस