Thaha

Saturday 21 September - 6:34 pm NST

बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुन्जमा, आजै बेलुका लमजुङ पुग्ने


काठमाण्डौं, ८ चैत ।  
नेपालको औपचारिक भ्रमणमा शनिवार काठमाडौं आएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी आज बर्दिया पुग्नु भएको छ । हेलिकप्टर मार्फत उहाँ बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा मचानमा पुग्नु भएको नेपालमा रहेको बेलायती दूतावासले जनाएको छ ।  निकुञ्जमा ह्यारीले बाघको संरक्षण र अनुसन्धानका विषयमा जानकारी लिनुहुनेछ । जंगली जनावर अवलोकनमा निकुञ्जभित्र पुग्ने ह्यारीले कर्णाली नदिको सहायक नदी गेरुवामा र्याफ्टिङ समेत गर्ने निकुञ्जका संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो । निकुञ्जको भ्रमणपछि राजकुमार ह्यारी डल्ला होम स्टेमा पुग्ने तयारी गरिएको छ ।

त्यहाँ ह्यारीले थारु संस्कृति झल्किने लठुवानाच अवलोकन गर्नु हुनेछ । ह्यारीको बर्दिया भ्रमण हुने भएपछि हिजोदेखि बर्दियाको ठाकुरद्वारा र आसपासको क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । बर्दिया भ्रमणपछि ह्यारी आज बेलुकी लम्जुङ्गको गौडा जाने कार्यक्रम तय भएको छ । गौंडा पुगेर ह्यारीले गोर्खा सैनिकका परिवारसंग कुराकानी गर्नुहुनेछ ।

आजै उहाँले अन्नपूर्ण पदमार्गमा ट्रेकिङ पनि गर्नुहुनेछ । उहाँ आज बेलायती सेनाका सेवा निवृत्त गम्दु तामाङको घरमा बस्नुहुनेछ । गम्दुको ३० वर्षअघि निधन भएको हो । उहाँकी पत्नी मंगली तामाङ्गले राजकुमार ह्यारीलाई आफ्नो घरमा स्वागत गर्नुहुनेछ । यसअघि राजकुमार ह्यारीले हिजो काठमाडौं उपत्यकाका विभिन्न ठाउँको भ्रमण गर्नु भएको थियो । नेपाल–बेलायत कूटनीतिक सम्बन्धको २०० वार्षिकीका अवसरमा पाँचदिने भ्रमणका शनिवार काठमाडौं आएका राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरिसक्नु भएको छ ।