Thaha

Saturday 21 September - 6:14 pm NST

साताब्यापी भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान


काठमाण्डौं, ७ चैत । 
प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जानु भएको छ । चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा प्रधानमन्त्री चीन भ्रमणमा जानु भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका छन् ।

प्रधानमन्त्रीसंगै उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि सहित झण्डै ५० जना चीन भ्रमणमा गएका हुन । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङ, समकक्षी ली खछ्याङलगायतसंग भेटवार्ता गर्नुहुनेछ । औपचारिक भेटवार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन ।

विवादीत हिमालयन एयरको जहाजबाट चीन भ्रमणमा हिडेको प्रधानमन्त्री ओली सहितको प्रतिनिधि मण्डल आउँदो  १४ गते छेन्दुबाट स्वदेश फर्किने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्री ओलीले आजको ठिक एक महिनाअघि दक्षिणको छिमेकी भारतको राजकीय भ्रमण गर्नु भएको थियो ।