Thaha

Saturday 21 September - 6:29 pm NST

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालीका सार्वजनीक


काठमाण्डौं, ६ चैत । 
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका तालीका सार्वजनीक भएको छ । चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले भोलीदेखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नुहुनेछ । चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा चैत ८ गते उहाँ सरिक हुने र समकक्षी लीसँग भेट गरी पारस्परिक हित र साझा चासोका विषयमा द्धिपक्षीय औपचारीक वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री लीले प्रधानमन्त्री प्रधानमन्त्रीको सम्मानमा सोही दिन दिवाभोज आयोजना गर्नुहुनेछ ।

प्रधानमन्त्रीले चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तैगरी उहाँले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रम र चीनको अन्तर्रा्ष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्मा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँको उपस्थितिमा सांघाई सहयोग सङ्गठन (एससीओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले हेनान प्रान्तको बोआओमा ‘एसियाको नयाँ भविष्य:नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद, मुख्यसचिव, सरकारका वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि चीन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री ओली १४ गते आईतवार छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।