Thaha

Saturday 21 September - 8:27 pm NST

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं मन्त्रीस्तरीय बैठक पोखरामा सुरु हुँदै


काठमण्डौं, ४ चैत । 
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं मन्त्रीस्तरीय बैठक पोखरामा सुरु हुँदैछ । मिनि सार्क सम्मेलनका रुपमा लिइने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा सहभागि हुन आठै देशका विदेश तथा परराष्ट्र मन्त्रीहरु हिजै बेलुका पोखरा पुगिसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उद्घाटन अघि परराष्ट्र मन्त्री कमल थापा र सार्कका महासचिव अर्जुनबहादुर थापाले बैठकका सहभागीलाई स्वागत गर्नुहुनेछ । बैठकमा विदेश सचिवहरु सहभागी सार्क स्थायी समितिको हिजो सकिएको बैठकले तय गरेका एजेण्डामा छलफल हुने प्रवक्ता पोखरेलले बताउनुभयो । स्थायी समिति बैठकमा सार्कका विद्यमान गतिविधि, जलवायू परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक बिपत्ती, जैविक उर्जा लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले सार्क शिखर सम्मेलन तोकिएकै समयमा गर्न पनि प्रस्ताव गरेको छ । नेपालले पहिलो पटक राजधानी बाहिर सार्क मन्त्रीस्तरीय बैठक आयोजना गरेको हो । बैठक सकेर सबै देशका विदेश मन्त्रीहरु भोली स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।