Thaha

Saturday 21 September - 8:28 pm NST

सार्कको कार्यक्रम समितिको बैठक पोखरामा सुरु


काठमाडौं, ०१ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को कार्यक्रम समितिको बैठक आजदेखि सुरु भएको छ । पर्यटकीय नगरी पोखरामा सुरु भएको बैठक भोलीसम्म चल्नेछ । बैठकको अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले गर्नुभएको छ । सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागिता हुने बैठकमा १८ औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ ।  दुईदिने बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिसमक्ष बैठकमा प्रस्तुत हुनेछ । आठवटै सदस्य मुलुकका परराष्ट्र सचिवहरु सम्मिलित सार्कको स्थायी समितिको बैठक चैत ३ गते बस्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिनुभयो । चैत ४ गते सार्कको ३७ औं मन्त्रीस्तरीय बैठक बस्नेछ । बैठकमा सहभागि हुन सबै देशका परराष्ट्र मन्त्रीहरु ३ गते बेलुका सम्म पोखरा पुगिसक्ने प्रवक्ता पोखरेलले बताउनुभयो । सरकारले पहिलोपटक राजधानी बाहिर मन्त्रीस्तरीय बैठक आयोजना गरेको हो ।