Thaha

Saturday 21 September - 8:40 pm NST

सिफारिस न्यायधीशको सुनुवाई प्रक्रिया अघि बढाउन एमालेको आग्रह

Dhumbarahi KTM

 काठमाडौं, ३० फागुन । नेकपा एमालेले न्यायपरिषद्ले संविधानअनुरुप सिफारिस गरेकाले सुनुवाई प्रक्रिया अगाडि बढाउन व्यवस्थापिका संसदलाई आग्रह गरेको छ । 
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले न्यायालयलाई बलियो बनाउन न्यायाधीश नियुक्तिका लागि छिटो संसदीय सुनुवाई प्रक्रिया अघि बढाउन संसदलाई आग्रह गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि फागुन १८ गते ११ जना न्यायाधीश संसदीय सुनुवाईका लागि संसद् समक्ष पठाएको थियो । तर, सभामुख ओनसरी घर्तीमगरले न्यायपरिषद्ले पूर्णता नपाएको, संसद नियमावली नबन्दा संसदीय सुनुवाई गठन नभएको अवस्थामा सुनुवाई गर्न नसकिने भन्दै फिर्ता पठाउनुभएको थियो । विभिन्न कारण देखाए पनि न्यायाधीश सिफारिसमा दलहरुबीच भागबण्डा नमिलेको प्रष्ट हुन्छ । 
त्यस्तै, एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सुझाब दिएको छ । बैठकपछि एमाले सचिव एवं प्रचार विभाग प्रमुख भट्टराईले चिनीया लगानीमा नेपालमा निर्माण भइरहेको चक्रपथ लगायत योजना छिटो सम्पन्न गराउने र सम्बध सुधारमा भ्रमण केन्द्रीत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिनुभयो । 
एमालेले उत्तरी नाका खोल्न प्रयत्न गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।  भ्रमणका क्रममा नेपाललाई फाइदा हुने आपूर्ति व्यवस्थापन लगायतका विषयमा समेत काम गर्न सुझाब स्थायी समितिले दिएको छ । बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका एजेण्डामा सुझाब माग्नुभएको थियो । प्रधानमन्त्री ओली आउँदो चैत ७ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।