Thaha

Saturday 21 September - 8:33 pm NST

भूकम्पबाट क्षतिग्रस्त निजी घर पुननिर्माणका लागि आजदेखि अनुदान सम्झौता

काठमाडौं, ३० फागुन । भूकम्पबाट क्षतिग्रस्त निजी घर पुननिर्माणका लागि आजदेखि अनुदान सम्झौता ह्ुने भएको छ । दोलखाको सिंगटी क्षेत्रबाट सम्झौता सुरु हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहायक प्रवक्ता डाक्टर भीष्म भूषालले जानकारी दिनुभयो । हरेक परिवारले पहिलो चरणमा ५० हजार रुपैयाँ पाउनेछन । अनुदान रकम पाउने पीडित नागरिकले अरु संस्थाबाट सहयोग नलिएको÷पछि नलिने, आफ्नो उपयुक्त र पर्याप्त घडेरी नभएको, तोकिएको मापदण्ड, प्रविधि र गुणस्तरअनुरुप घर बनाउने लगायत शर्त पालना गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । सरकारले रकम दिए पनि आवश्यक सामग्री खरिद गर्ने तथा डकर्मी, सिकर्मी, प्लम्बर, इलेक्ट्रिसियन तथा अन्य निर्माण कार्य गर्ने कर्मचारी तथा श्रमिक जुटाउने काम भने नागरिक स्वयम्ले नै गर्नुपर्नेछ । पहिलो किस्ता लिएर बनाएको घर जिल्ला आयोजना कार्यान्वयन इकाईबाट प्रमाणित भएपछि दोस्रो किस्ताबापत ८० हजार रुपैंया प्रदान गरिनेछ । अन्तिम किस्तास्वरुप ७० हजार रुपैयाँ पाउने व्यवस्था हुनेछ । प्राधिकरणले प्रतिपरिवार २ लाख रुपैयाँ वितरण गर्नेछ । सिंगटीमा सरकारले विश्व बैंकबाट लिएको ऋण सहयोगबाट घर बनाउने पैसा बाँड्न लागेको प्राधिकरणले जनाएको छ । आज अनुदान सम्झौता भएपनि बैंक खाता खोलिसकेपछि अर्को सोमबारसम्ममा पीडित नागरिकले बैंकबाट रकम पाउने सहायक प्रवक्ता भूषालले स्पष्ट पार्नुभयो ।